Friday, October 2

विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग

नेपालअखबार, काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेस गर्दा व्यहोर्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ।

Advertisement

महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले पीपीएमओका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी हालको हार्डकपी बोलपत्र दाखिलासम्बन्धी समस्या तथा विद्युतीय खरिद प्रणाली (ई-जीपी) को स्तरोन्नति र सञ्चालनका विषयमा छलफल गरेको हो।

Advertisement
Advertisement

भेटका क्रममा महासङ्घले विद्यमान प्रणालीमा देखिएका साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा तथा प्रणालीगत सुरक्षाका विषयमा कार्यालयको ध्यानाकर्षण गराएको छ। निर्माण व्यवसायीहरूलाई बोलपत्र पेस गर्न कुनै पनि प्राविधिक अवरोध नहुने वातावरण बनाउन तथा सार्वजनिक खरिद प्रक्रियालाई निरन्तर र सुरक्षित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रतिनिधिमण्डलले आग्रह गरेको छ।

Advertisement

त्यसैगरी, विद्युतीय प्रणालीमा समस्या उत्पन्न भएको अवस्थामा खरिद प्रक्रिया नै अवरुद्ध हुन नदिन महासङ्घले तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न माग गरेको छ। महासङ्घले हार्डकपी  र विद्युतीय खरिद प्रणाली दुवै माध्यमबाट बोलपत्र पेस गर्न सकिने व्यवस्था मिलाउन वा अत्यावश्यक बाहेकका अन्य नयाँ बोलपत्रहरू तत्कालका लागि सुरु नगर्न आग्रह गरेको छ। साथै, नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म हाल प्रकाशित भइसकेका बोलपत्रहरूको म्याद थप गर्नुपर्ने मागसमेत अघि सारेको छ।

यसका साथै, नयाँ प्रणालीको आवश्यक कानुनी, प्राविधिक तथा साइबर सुरक्षा परीक्षण छिटो सम्पन्न गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि महासङ्घले जोड दिएको छ।

छलफलका क्रममा पीपीएमओले विद्यमान प्रणालीलाई आवश्यक प्राविधिक तथा सुरक्षात्मक सुधारसहित ‘भर्सन–२’  का रूपमा स्तरोन्नति गरी नयाँ प्रणालीको विकास भइरहेको जानकारी दिएको छ। कार्यालयका अनुसार हाल उक्त नयाँ प्रणालीको डेमो तथा परीक्षण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।