Friday, October 30

जडीबुटी बेचेर चार करोड राजस्व असुली

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

Advertisement

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

Advertisement
Advertisement

जडीबुटीमा प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए ।

Advertisement

यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर ७५ रुपैयाँ रहेको छ । यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए ।

उहाँका अनुसार राजस्व दर प्रतिकेजी ४० रुपैयाँ निर्धारण भएको ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको छ । प्रतिकेजी २५ रुपैयाँ राजस्व दर भएको सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो ।

प्रतिकेजी १० रुपैयाँ राजस्व दर निर्धारण गरिएको टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, प्रतिकेजी २५ रुपैयाँ राजस्व दर भएको सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ, प्रतिकेजी तीन रुपैयाँ राजस्व दर भएको रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ राजस्व रुपैयाँ सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताउनुभयो ।

उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।