Tuesday, November 17

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

नेपालअखबार,बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

Advertisement

वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

Advertisement
Advertisement

रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

Advertisement

सडक डिभिजन कार्यालय नेपालगञ्जले विसं २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताए। उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ ।

पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएको उनले बताए ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए ।

बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा पलाएको उनले बताए ।

बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यतामा छन् । शुल्क तिरेर नदी वारपार गर्नुपर्दा थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताए ।