नेपाल अखबार, एजेन्सि। घरेलु कामदारको रुपमा भारतको हैदराबादस्थित एक घरमा कार्यरत नेपाली जोडी आइतबार राती २ करोड भारु मूल्य बराबरको पैसा, गहना र विद्युतीय उपकरणसहित फारर भएको आरोप लागेको छ ।
भारतीय मिडिया द न्यू इन्डियन एक्सप्रेसका अनुसार यो नेपाली जोडीले घरका पूरा परिवार एक कार्यक्रममा गएका बेला नगद, गहना र सर–सामान लिएर फरार भएको हो । यो जोडी उक्त घरको परिसरमा नै बनेको अर्को घरमा बस्ने गर्दथे ।
माल्काजगिरीका डिसीपी रक्षिता के मूर्तीका अनुसार फरार नेपाली जोडीको खोजीमा एक विशेष समूह गठन गरिएको छ । ‘हामीले प्राविधिक प्रमाण जुटाएका छौं र अनुसन्धान थालेका छौं,’ उनले भनिन् ।
घर–जग्गा व्यवसायी ए नरसिम्ह रेड्डीका छोराको जुलाई २९ मा विवाह भयो । विवाहको रिसेप्सनका लागि पूरा परिवार आइतबार राती फलाकनुमा प्यालेस पुगेका थिए । घरको पूरा जिम्मेवारी उनीहरुले नेपाली जोडीलाई सुम्पिएका थिए ।
जब मध्य राती उनीहरु घर फर्किए तब उनीहरुले घरको मूल ढोका खुल्ला देखे । सरसर्ती हेर्दा उनीहरुले सुन र हिराका गहना, विद्युतीय उपकरण र पैसाको चाङ हराएको देखे । खोजी गर्दा घरेलु कामदार कतै भेटिएनन् ।
प्रहरीलाई सूचना दिएपछि थालिएको अनुसन्धानमा मूल ढोका खोल्नका लागि यी दुईले फलामको उपकरण प्रयोग गरेका थिए । घरको सीसीटिभी फुटेजलाई नियाल्दा यो जोडी आइतबार राती ८ बजे घरबाट निस्किसकेका थिए । त्यहाँबाट भाग्न उनीहरुले मालिककै बाइक प्रयोग गरेको जुन पछि उनीहरुले कुसाइगुडा एक्स–रोडमा छोडिदिएको जानकारीमा उल्लेख छ । प्रहरी अहिले यो जोडीको खोजीमा जुटेको छ ।
Nepal Akhabar > Blog > विदेश > भारतमा काम गर्ने नेपाली जोडी २ करोड मूल्य बराबरको गहना र नगदसहित फरार
