Saturday, April 18

पालुङ्टारका अधिकांश उजुरीमा मिलापत्र

गोरखा । पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा पर्ने अधिकांश उजुरी मिलापत्रबाट टुङ्गिने गरेका छन् । हालसम्म परेका उजुरी मध्ये झण्डै ८० प्रतिशतमा मिलापत्र भएको समितिको तथ्यांकले देखाउछ ।
२०७४ जेठदेखि २०७६ कार्तिक मसान्तसम्म समितिमा १ सय ७४ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ३७ वटा उजुरीलाई समितिले मिलापत्र गराई टुङ्गयाएको हो । ‘उजुरी परेपछि हामी दुवै पक्षलाई बोलाएर छलफल गराउँछौ’ समितिका संयोजक एवं उपप्रमुख पम्फा बसेलले भनिन् ‘हामीले छलफल गराउदा दुवै पक्ष सहमतीमा जान इच्छुक देखिन्छन्, त्यसपछि परामर्श दिएर मिलापत्र गराएर पठाउछौ ।’
यस बर्षदेखि पालुङ्टारले इजलाशको समेत ब्यवस्था गर्दै समितिको कामलाई ब्यवस्थित रुपमा अघि बढाएको जनाएको छ । सुरुकै बर्षदेखि कानूनी सल्लाहकार समेत नियुक्त गरेको समितिले सकेसम्म हरेक विवादलाई सहमतीमा टुङ्गयाउने प्रयत्न गर्ने गरेको उपप्रमुख बसेल बताउछिन् । ‘उजुरी आउनेबित्तिकै हामी पहिला दुवै पक्षलाई बोलाएर छलफल गराउछौ, आवस्यकता परे फिल्डमा गएर पनि अध्ययन गर्छौ’ उनले भनिन् ‘सकेसम्म हरेक विवादमा सहमती चाहान्छौ, अहिलेसम्मको कामलाई हेर्दा त्यो सम्भव पनि भएको छ, कुनै कुनै संवेदनशिल केश मात्रै कानुनी प्रकृयामा लैजाने गरेका छौ ।’
कार्तिक मसान्तसम्मको तथ्यांकलाई हेर्दा १ सय ७४ मध्ये ७ वटा उजुरीलाई निर्णय मार्फत निरुपण गरिएको छ । न्ययिक समितिलाई ११ प्रकारका विवादमा निर्णय गर्दै निरुपण गर्न पाउने अधिकार छ । त्यस्तै १२ प्रकारका विवादमा मेलमिलापबाट निरुपण गर्न पाउने क्षेत्राधिकार समितिलाई दिएको संयोजक बसेल बताउछिन् । त्यस्तै हाल २४ वटा उजुरी भने विचाराधिन रहेको र ६ भने दर्ता फिर्ता भएका छन् ।

सबैभन्दा बढी उजुरीमा जग्गा विवाद
पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी उजुरी जग्गा विवादका आउने गरेका छन् । कार्तिक मसान्तसम्म समितिमा ४५ उजुरी जग्गा विवादका आएको कानूनी सल्लाहकार दिपक कुमार श्रेष्ठले बताए ।
जसमध्ये ३२ वटालाई सहमती र ४ वटालाई निर्णय मार्फत निरुपण गरिएको छ । त्यस्तै ९ वटा भने विचाराधिन अवस्थामा रहेको श्रेष्ठको भनाई छ । त्यस्तै लैंगिक हिंसा सम्बन्धी उजुरी समेत समितिमा कम छैनन् । १ सय ७४ मध्ये ४४ वटा उजुरी महिला तथा लैंगिक हिंसा सम्बन्धीका छन् । जसलाई पारिवारिक विवादका रुपमा समेत उल्लेख गरिन्छ । यस्ता उजुरीमा भने सबैजसोमा मिलापत्र हुने गरेको कानूनी सल्लाहकार श्रेष्ठले बताए ।
यसैगरी समितिमा ज्याला मजदुरी सम्बन्धी २३, गाली गलौज ६, घरभाडा विवादमा ९, नाबालक पालनपोषण तथा शिक्षा, जेष्ठ नागरिक संरक्षणमा १३, अंश विवाद ७, कुलो पानी र साँध मिचेको ७, ध्वनी प्रदुषणमा ४ र अन्यमा २३ उजुरी परेको श्रेष्ठको भनाई छ । समितिमा पर्ने गरेका केहि संवेदनशिल उजुरीहरुको निरुपणमा भने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीसंग सहकार्य गर्दै आएको बताइएको छ ।
#Palungtar

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *