Saturday, November 21

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ

नेपालअखबार,दैलेख । घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना नाबालक सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोला बस्ने प्रेमबहादुर सलामी मगरका ३८ वर्षीय छोरा अम्बर सलामी मगरले शुक्रबार बिहान करिब ९ बजेर ३५ मिनेट जाँदा परिवारका सदस्यमाथि साङ्घातिक आक्रमण गरेका हुन् ।

Advertisement
Advertisement

प्रहरी चौकी हाँडाकोटका अनुसार श्रीमान्–श्रीमतीबिच सामान्य घरायसी वादविवाद हुँदा अम्बरले दाउरा काट्ने बन्चरोले प्रहार गरेका थिए । आक्रमणबाट उनकी ३५ वर्षीया श्रीमती मनिसा सलामी मगरसहित १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीको टाउकोमा गम्भीर चोट लागेको छ ।

Advertisement

घाइते चारै जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लुतर्फ लगिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी हाँडाकोटबाट करिब ३ किलोमिटरको दूरीमा रहेको उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली खटिएको थियो ।

आक्रमणमा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।