Wednesday, July 15

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता

नेपालअखबार, काठमाडाैं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।

Advertisement

उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडा दशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उनले भने, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौं ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराए । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।

Advertisement
Advertisement

यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाए ।

Advertisement

महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ । “महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ । प्लेट जडान सम्पन्न भएसँगै हामीले जीपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ”, उनले थपे, “यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौं ।”