
नेपालअखबार, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।
‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’
कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफंैभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुलाई उनले आग्रह गरेका छन् ।

