Friday, November 20

जमिनी सतहमा प्रवेश गर्दै चक्रवात अक्वान, ओडिसामा १ लाख बढी मानिसलाई सारियो सुरक्षित स्थानमा

नेपालअखबार,  काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको आन्ध्र प्रदेश र ओडिसा तटनजिक आइपुगेको छ।

Advertisement

शुक्रबार दिउँसोसम्म आन्ध्र प्रदेशको उत्तरी र ओडिसाको दक्षिणी तट हुँदै गोपालपुरनजिकबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

Advertisement
Advertisement

भारतको मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार बिहीबार साँझ ५:३० बजे चक्रवात आन्ध्र प्रदेशको कलिंगपट्टनमबाट २७० किलोमिटर दक्षिणपूर्व र ओडिसाको गोपालपुरबाट ३५० किलोमिटर दक्षिणमा केन्द्रित थियो।

Advertisement

पछिल्लो ६ घन्टामा यो प्रतिघन्टा १३ किलोमिटरको गतिमा उत्तरतर्फ सरेको थियो।

चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति प्रतिघन्टा ९० देखि १०० किलोमिटरसम्म पुग्ने र झोक्कासहित ११० किलोमिटरसम्म पुग्न सक्ने मौसम विभागले जनाएको छ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै ओडिसा सरकारले एक लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।

जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतका लागि ३०० भन्दा बढी टोली परिचालन गरिएको अधिकारीहरूले भारतीय समाचार संस्था पिटिआईलाई बताएका छन्।

चक्रवातको प्रभावबाट आन्ध्र प्रदेशका श्रीकाकुलम र विजयनगरम जिल्लामा रेड अलर्ट जारी गरिएको छ।

त्यस्तै पार्वतीपुरम मान्यम, अल्लुरी सीतारामराजु र अनाकापल्ली जिल्लामा ओरेन्ज अलर्ट तथा काकिनाडामा यल्लो अलर्ट जारी गरिएको छ।

ओडिसाका ६ जिल्लामा तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।

गञ्जाम, गजपति, पुरी, जगतसिंहपुर, केन्द्रपाडा र कन्धमाल जिल्लाका विद्यालय बिहीबारदेखि बन्द गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा खटिएका सरकारी कर्मचारीको बिदासमेत रद्द गरिएको छ।

चक्रवातका कारण हवाई तथा रेल सेवा पनि प्रभावित भएका छन्।

इन्डिगो एयरलाइन्सले बिहीबार साँझ भुवनेश्वर, विशाखापट्टनम र कोलकाताबाट हुने तथा ती सहरमा आउने उडान प्रभावित भएको जनाएको छ।

पूर्वी तटीय रेल्वेले ४१ रेल रद्द गरेको छ भने २९ रेलको समय परिवर्तन गरेको छ। दक्षिण पूर्वी रेल्वेले पनि कम्तीमा २८ एक्सप्रेस रेल रद्द गरेको पिटिआईले जनाएको छ।

रद्द गरिएका अधिकांश रेल शुक्रबार पुरी जाने वा त्यहाँ हुँदै सञ्चालन हुने रेल छन्।

चक्रवात शुक्रबार दिउँसो गोपालपुर र पुरीबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

त्यसलाई ध्यानमा राख्दै दुवै राज्यले उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनलाई तीव्र बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

चक्रवातले लिने दिशा र यसको शक्तिमा आउने परिवर्तनले नेपालमा असर गर्छ कि गर्दैन भन्ने निर्धारण हुने मौसमविदहरूले बताएका छन्।