Saturday, May 30

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

नेपालअखबार, गुल्मी। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।

रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ।

Advertisement

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्।

‘हामी त बाध्य भएर यसरी पढाउँदै छौं’, उनले भनिन्, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ।

सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्।

आफूहरूले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए।

नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ।  रासस