
नेपालअखबार,बैंकक । दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्डमा आइतबार संसदीय निर्वाचन हुँदैछ । संसदीय चुनावमा मत खसाल्न बिहानैदेखि ठुलो सङ्ख्यामा सर्वसाधारण मतदानस्थलमा पुगेका छन् । यस पटकको आम निर्वाचनमा फाइत्रोनतार्न सिनावात्रा पनि प्रधानमन्त्रीको दौडमा छिन् । ३६ वर्षीया फाइत्रोनतार्न थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
यसपटकको निर्वाचनमा आम मतदातामाझ प्रतिपक्षी दलकी नेतृ फाइत्रोनतार्नको अवस्था सन्तोषजनक रहेको बताइएको छ । उनको पार्टीको नाम फेउ थाई हो । यसपटकको निर्वाचनलाई आम मतदाताले देशको भविष्य कोर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिएका छन् ।

अर्कोतिर, वर्तमान प्रधानमन्त्री प्रायुथ चान—ओचा पनि पुनः प्रधानमन्त्री हुने दौडमा देखिएका छन् । आर्मी प्रमुखसमेत रहेका प्रायुथ चान—ओचाकै नेतृत्वमा सन् २०१४ मा थाइल्यान्डको सरकार आफ्नो कब्जामा लिएको थियो । तर, पछिल्लो समय उनले थाइल्यान्डमा थुप्रै चुनौतीको सामना गर्नु परेको छ ।
आइतबार स्थानीय समयअनुसार, बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचनका लागि देशभर ९५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । थाइल्यान्डका करिब ५ करोड मतदाताले आम निर्वाचनमा भाग लिँदैछन् । यो निर्वाचनबाट थाइल्यान्डको संसद्को तल्लो सदनमा ५ सयजना जनप्रतिनिधि चयन हुनेछन् ।

