Tuesday, July 7

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

नेपालअखबार, नवलपुर । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ। यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो। विभागको हावापानी विज्ञान महाशाखाका अनुसार वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो। सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement

विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ।

Advertisement

नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८ दशमलव आठ, १४ गते ३८, १५ गते ३८ दशमलव आठ, २४ गते ३९ दशमलव आठ, २५ गते ४१ दशमलव आठ, २७ गते ४२ दशमलव आठ, २८ र २९ गते ४१ दशमलव आठ, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो।

जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम भएको विभागले जनाएको छ। जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो।

जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ। जेठ २० गते ४३, २१ गते ४२ दशमलव आठ, २२ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जेठ २२ गते नवलपुरमा त्यसबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो। त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो।

जेठ २३ मा तापक्रम घटेर ४२ दशमलव आठ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ। जेठ २४ र २५ गते यहाँको तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस पुगेको थियो। नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो। विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ।

नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ।

अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली–१७ का कृषक देवनारायण महतोले बताए। गर्मी अधिक भएपछि यस क्षेत्रमा दिउँसोको समयमा मानिस घरभित्रै बस्ने गरेका र घरायसी कामकाज बिहानबेलुकी गरेर गर्दै आएको महतोले बताए।