Tuesday, July 28

कुतियाकवरको दुःख- बर्खा लाग्यो कि बाढीकै पिर

नेपालअखबार, दोधारा चाँदनी। तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

Advertisement

जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ।

Advertisement
Advertisement

‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ’, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, ‘सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ।’ उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन्।

Advertisement

‘गत वर्ष बाढीले बेसार खेती र तरकारी खेती पुरियो’, उनले भनिन्, ‘कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गइसके।’

यहाँ ४९ परिवारको बसोबास छ ।

यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन्। गाउँमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन्।

‘हामीले यहाँ डरैडरमा बाँच्नुपरेको छ’, स्थानीय वसन्ती सुनारले भनिन्, ‘हाम्रो बस्ती नै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो।’ बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको उनले बताइन्।

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ। तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले भनिन्। स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाँ समस्या हुने गरेको बताइन्।

‘हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ’, सुनारले भनिन्, ‘बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निद्रा लाग्दैन।’

उनले जोगबुढा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताइन्।

यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न सङ्घसंस्थाले जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धारलगायतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरेका छन्।

बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लुए र निड्स नेपाललगायतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन्। दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए।

‘नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो’, उनले भने, ‘यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन्।’ रासस