Thursday, July 30

शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

Advertisement

दाङको बेलझुन्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवं दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याएका हुन्।

Advertisement
Advertisement
विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको वेला आएको उल्लेख गर्दै उहाँले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे।

सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवं प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए।

Advertisement

उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आफ्नाे नीति तथा कार्यक्रमभित्र समेटेको बताए।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले संस्कृत वाङमयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई छात्रछात्राले नबिर्सने विश्वास व्यक्त गरे।

नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै उनले पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको संवर्द्धन एवं विकासमा विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए।

विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुन नसकेकातर्फ पदाधिकारीको ध्यानाकर्षण गराउँदै उनले छात्रछात्राको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले नयाँनयाँ खोज, आविष्कार तथा विकासका आधार सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्न सक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गरिएको बताउए। रासस