Thursday, July 16

बागलुङका सबै वडामा लम्पी स्किनविरूद्धको खोप

नेपालअखबार, बागलुङ। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।

Advertisement

दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए।

Advertisement
Advertisement

केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ।

Advertisement

लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ। फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए। पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ।

मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन्। ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु यसबाट बिरामी छन्। निसीखोलामा पाँच सय १३, गलकोट नगरपालिकामा एक सय ४२, बडिगाड गाउँपालिकामा एक सय ८१ र तमानखोलामा एक सय ८९ गाई बिरामी परेका छन्। बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाईमा पनि लम्पी स्किन देखिएको छ।

सङ्क्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए। भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए। सबैभन्दा धेरै सङ्क्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए।

किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग सङ्क्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको पाइएको छ।रासस