गाेरखा । बरिष्ठ हास्य कलाकारद्धय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सदरमुकाममा रहेको समता शिक्षा निकेतनको भवन शिलन्यास गरेका छन् ।
गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।
समता ट्रष्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र नीजि भन्दा फरक रहेको बताए ।
‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’
असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रष्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउदै उनले यसबाट सक्षम नागरिक उत्पादन हुने विश्वास ब्यक्त गरे ।
त्यस्तै अर्का कालाकार हरिवंश आचार्यले देशभरीका नीजि र सरकारी शिक्षालयसंग प्रतिस्प्रर्धा गर्न सक्ने शिक्षा समताले दिन सक्षम रहेको तर्क गरे । ‘समता निस्वार्थ शिक्षा दिने संस्था हो, अहिले एक केजी लसुनको ८ सय पुगेको छ तर समताले महिनाभर पढाएर एक सय रुपैया मात्रै लिन्छ’ आचार्यले थपे ‘समताले धेरै पृथ्वीनारायण शाहहरु जन्माएर देशको विकास र सम्मृद्धिमा लाग्ने नागरिक उत्पादन गर्छ यसमा कुनै डाउट छैन ।’
गोरखामा रहेको समता स्कुल आफ्नो र ट्रष्टको मात्रै सम्पत्ती नभई सारा गोर्खालीको भएको मह जोडीले बताएका छन् ।
राजुबाबु श्रेष्ठले दिए समतालाई झण्डै २ करोडको जग्गा
गोरखा नगरपालिका ६ का डा राजुबाबु श्रेष्ठले समता शिक्षा निकेतनको भवन निर्माणका लागि साडे ५ रोपनी जग्गा दान दिएका छन् ।
दरवारमार्गमा रहेको पूर्खेउली जग्गा उनले ९ बर्षअघि समतालाई निशुल्क दान दिएका हुन् । उनका अनुसार हाल सो जग्गाको मुल्य झण्डै २ करोड बराबर हुन आउछ । आफ्ना स्वर्गिय बाबु इश्वरी प्रसाद श्रेष्ठ र आमा इश्वरी देवी श्रेष्ठको स्मृती र सम्मानका लागि विद्यालयलाई दान दिएको उनले बताए ।
‘असल समाज र सम्मृद्ध देश बन्न पहिला बालकालिकाले राम्रो शिक्षा पाउन जरुरी छ, समताले देशभर चलाएको अभियानबाट प्रभावित भएर मैले दान दिए’ पूर्व एसपी समेत रहेका श्रेष्ठले भने ।
शिलन्यास कार्यक्रममा संस्थापक उत्तमकुमार सञ्जेलले गोरखा सहित देशभर समाताले ८० वटा विद्यालय स्थापना गरेर ६५ हजार विद्यार्थीलाई सर्वसुलभ शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।
गोरखामा रहेको सो विद्यालय निर्माणका लागि रोटरी क्लब ३२५ बि १ ले ३० लाख रुपैया सहयोग गरेको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ, रोटरी नेपालका डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठ, रोटरीका लिट्रेसी मिसनका प्रमुख तिर्थमान शाक्य, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, समता ट्रष्टका निर्देशक दिपक सञ्जेल, जग्गादाता डा. राजुबाबु श्रेष्ठ, झलक शर्मा पौडेल लगायतले बोलेका थिए ।
सो विद्यालय २० कोठाको बन्ने समता विद्यालयकी प्रधानाध्यापक मनिता थापा मगरले बताइन ।
भिडियाे हेर्नुस

