परागसेचनमा घरपालुवा मात्र नभई जङ्गली, एक्लै बस्न रुचाउने मौरी, झिँगा प्रजातिका किरा सबै नै महŒवपूर्ण हुने विषयमा कृषकलाई जानकारी गराउन सकिएको छैन । त्यसको असर विभिन्न खाद्यबालीलगायत नगदेबालीमा पनि परेको छ । विषादीको प्रयोगले भँवरा र मौरीको सङ्ख्यामा निरन्तर कमी आउँदा त्यसको असर अलैँची उत्पादनमा भएको कृषि अनुसन्धान विज्ञ देवराज अधिकारीले बताए ।
पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको तीन लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष तीन हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे । उनले के रोगले बगान सखाप भयो भन्ने जानकारी पाउन नसकेको बताए ।
नेपालका अधिकांश जिल्लामा अलैँचीका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका उपेन्द्र तिमल्सिनाले केही समययता अलैँची उत्पादनमा निकै कमी आएको बताए । अलैँची उत्पादनको ‘हब’ मानिएको कोशी प्रदेशका अधिकांश जिल्लाका किसानको बगान नै सखाप हुन थालेको उहाँले दाबी गर्नुभयो । ७० वर्षदेखि हुँदै आएको स्वस्थ बगैँचामा समेत ठुलो असर देखा परेको तिमल्सिनाले उल्लेख गरे । अघिल्ला वर्षको मौज्दात बाँकी रहेकाले निर्यातमा खासै फरक नदेखिए पनि आगामी वर्षदेखि अलैँची निर्याततर्फको ठुलो रकम घट्नेतर्फ सरोकारवालाले चासो देखाएका छन् । नेपालको अलैँची उच्च गुणस्तरको हुने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।