
नेपालअखबार, काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीबारे जानकारी दिनुुभयो ।
उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने जनाउनु भयो । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको उहाँको भनाइ थियो । त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिइएको उहाँले जनाउनु भयो ।
‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहिँ २० वटै हुँदैछ तर निर्वाचन चाहिँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौँ । मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ,’ उहाँले भन्नुभयो , ‘सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं । त्यसैगरी प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरुमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौँ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिनुभयो । त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको जनाउनु भयो । रासस

