Sunday, May 10

श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ

नेपालअखबार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरी वार्ता भइरहेको जनाएको छ । एचआरडी कोरियासँग यो विषयमा निर्णयमा पुग्ने गरी छलफल तथा वार्ता भइरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उठान गरेका मागका विषयमा छलफल भइरहेको जनाएको हो । ‘यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवम् तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न आह्वान गरेको थियो । जसमा सूचनाको बुँदा नं. ५ को (च) मा उल्लेख भएको विषयलाई लिएर २०२३ को पानी जहाज निर्माण क्षेत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले उक्त बुँदा हटाउन माग गर्दै आएका थिए । उनीहरूले ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरू गर्दै आएका थिए । एक वर्षमा एकभन्दा बढी क्षेत्रहरूमा आवेदन दिन नसकिने भन्ने कोरियामा आप्रवासी कामदार जाने १६ देशहरूका लागि लागू छ ।

WhatsApp Image 2023-12-29 at 5.00.58 PM