Friday, July 3

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

नेपालअखबार,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।

Advertisement

झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।

Advertisement
Advertisement

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे।

Advertisement

उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहेको बताए। उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए।

‘नबिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो,’ उनले भने, “अहिले त दुई तीन घण्टा कुर्नुपर्छ,’ उनले भने।

उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे।

उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने हुँदा सास्ती भोग्नुपरेको बताए।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए।

उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए।

‘भन्सारमा सामान आएको हप्तादिन भयो,’ उनले भने, ‘सम्भवत आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ।’

उनले एक दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२  चार्जिङ स्टेसन निर्माण गरिएको छ।

केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए।

उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए।

उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए। उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए।

चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। रासस