Thursday, July 30

अष्ट्रेलिया जान छाडेर गाउँमै च्याउखेती, जोगाउँछन् वर्षमा १० लाख

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।

Advertisement

अठार महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्ट्रेलिया जानका लागि आवेदन दिए ।

Advertisement
Advertisement

‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो’, उनले भने, ‘त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा (भिसा) नै रद्द गरी च्याउ खेतीमा लागे ।’

Advertisement

रानाले वर्षमा २० लाखदेखि २७ लाख रुपैयाँसम्मको च्याउ बिक्री गर्दै आएको बताए । त्यसबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर वर्षमा १० लाख जति रकम बचत गर्दै आएको जानकारी दिए । च्याउ खेतीमा उनको ३० लाख रुपैयाँ लगानी भइसकेको छ ।

उनी दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्कने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त हुन्छन् । च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको १२ लाख रुपैयाँ अनुदान रकमबाट उनले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गरेका छन् ।

अनुदानको रकमबाट बनाएको प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गर्दै आएका छन् । हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसो बीचको मौसममा पिङ्की जातको च्याउ रानाले उत्पादन गर्दै आएका छन् ।

‘यस वर्षको साउनदेखि हालसम्म पिङ्की चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ’, रानाले भने, ‘पिङ्की चार सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री भयो, कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो रु एक सय ३० का दरले बिक्री भएको छ ।’

उनका अनुसार टनेलमा अझै ६० देखि एक सय क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा रहेको छ । स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन ।

कन्या च्याउ जस्तै पिङ्की र मिल्की च्याउको उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको रानाले बताए । ‘दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु’, उनले भने, ‘उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ ।’

नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटर जडित ‘फोगर सिस्टम’ खरिद गरेका छन् ।

‘पहिला च्याउ उत्पादन गर्न बीउसहित राखिएका परालका पोकामा हातैले ट्याङ्कीबाट पानी छर्कने गरेका थियौँ’, उनले भने, ‘एकजना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युतको स्वीच थिच्ने बित्तिकै स्वचालित रुपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्दछ ।’ सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उनको भनाइ छ ।

रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाई देखेर दङ्ग छन् । परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गर्दै आएका छन् । भविष्यमा च्याउको बीउ उत्पादन गर्न उनले ‘ल्याब’ स्थापना गर्ने सोच पनि राखेका छन् । उनले हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गर्दै आएका छन् ।

उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गर्दै आएको उनले बताए । आठ जनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाए ।

नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर राना नगरपालिका क्षेत्रमै च्याउ खेती गरेर बढी कमाई गर्ने किसानका रुपमा परिचित रहेको बताउँछन् । व्यवसायिक च्याउ खेतीमै लागेर कार्य गरेको देखेर प्रोत्साहित गर्नका लागि गत आवमा च्याउ पकेट कार्यक्रम अन्तर्गत अनुदान रकम उपलब्ध गराइएको उनी बताउँछन् ।

रानाले उत्पादन गरेको च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको उनले बताए । व्यावसायिक च्याउ खेती गर्न इच्छुक किसानलाई नगरपालिकाबाट प्रत्येक वर्ष बीउ र प्रविधिमा सहयोग हुँदै आएको उनले जानकारी दिए ।

वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउँछन् । ‘च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाउनुभएको छैन, वडालाई चिनाउनुभएको छ’, उनले भने, ‘राना नगपालिकाकै गर्व गर्ने पात्रका रुपमा हुनुहुन्छ ।’ रासस