Wednesday, July 29

एकीकृत समाजवादी महाधिवेशनमा केन्द्रित, दस्ताबेज मस्यौदा समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आगामी जेठ पहिलो साता हुने नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने ‘दस्ताबेज मस्यौदा समिति’को बैठक आजबाट बस्ने भएको छ । चैत ६ गतेदेखि १० गतेसम्म लगातार बैठक बसेर दस्ताबेजलाई अन्तिम रूप दिने तयारी भएको सो पार्टीका नेताहरूले बताएका छन् ।‘अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समितिको बैठक मंगलबार ११ बजेबाट बस्दै छ । यो बैठक लगातार चार दिन बस्छ र मस्यौदालाई अन्तिम रूप दिन्छ’, उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ छ ।

Advertisement

फागुन १७ गते बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, विधान र संगठानिक विषय समेटेर चार जना नेतालाई फरक फरक विषयमा दस्ताबेज लेख्न जिम्मेवारी दिएको थियो । फरक फरक शीर्षकमा दस्ताबेज लेखिए पनि महाधिवेशनमा सबैलाई समेटेर एउटै मात्र दस्ताबेज प्रस्तुत गर्ने सो पार्टीको निर्णय थियो ।

Advertisement
Advertisement

जसअन्तर्गत अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दस्ताबेज,सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो ।

Advertisement

चैत १ गते बसेको दस्ताबेज मस्यौदा समितिको बैठकमा नेता झलनाथ खनालको प्रतिवेदन पेस भएको थियो । बाँकी नेताहरूले आजको बैठकमा आआफ्नो प्रतिवेदन पेस गर्ने र त्यसमा मस्यौदा समितिका २७ जनाकै सुझाव समेटेर अन्तिम रूप दिने तयारी भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।