Wednesday, April 22

क्याम्पस प्रमुखको हत्यामा संलग्न थप एकजना पक्राउ, हत्यामा प्रयोग भएको पेस्तोल बरामद

नेपालअखबार,बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

बारागढी गाउँपालिका –५  चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

Advertisement

उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ।

कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ। हत्याका मुख्य दोषी भने फरार छन्।

निजलाई पक्राउ गर्न प्रहरीले मित्र राष्ट भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा बसी खोज तलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए। ‍गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन्।

कुशवाहाको हत्याले सिङ्गो जिल्लामा त्रास फैलिएको छ। बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ।