Thursday, July 30

राप्रपाले आन्दोलनका लागि देशभरि २० हजार युवा तयार राख्ने

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी केन्द्रित आन्दोलनका लागि देशभरिबाट २० हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ ।

Advertisement

वर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरिका ६,७४३ वडाबाट प्रतिवडा कम्तीमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरूलाई राप्रपामा आबद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् ।

Advertisement
Advertisement

महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा बुधबार बसेको बैठकले देशव्यापी रुपमा प्रत्येक हप्ता मठमन्दिर सफाइ गर्न राप्रपाका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका समितिहरूलाई निर्देशन दिएको छ । प्रत्येक हप्ता सञ्चालन हुने मन्दिर सफाइ कार्यक्रम दसैँ, तिहार र छठसम्म जारी रहने उनले बताए ।  महामन्त्री राणाका अनुसार, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिहरू र राप्रपासम्वद्ध जनवर्गीय संगठनहरुले साउन महिनासम्म काठमाडौँ उपत्यकाभित्र विरोध कार्यक्रमहरु आयोजना गर्नेछन् ।

Advertisement

सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमितताका विरुद्धमा नगर समितिले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछ भने सो कार्यक्रमको अनुगमन गर्न पार्टीका जिल्ला अध्यक्षलाई बैठकले जिम्मेवारी दिएको छ ।

आन्दोलन परिचालन समितिले समान विचारधारा भएका दल, समूह, संघसंस्था र व्यक्तिसँग अन्तरक्रिया जारी राख्नेछ । धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारीलगायत बुद्धिजीवीसँग राप्रपाले आन्दोलनको क्रममा अघि सारेको ४० बुँदे मागका विषयमा अन्तरक्रियाहरू आयोजना गर्नेछ ।

किसानलाई मलखाद्य सहज उपलब्ध र वितरण गर्न राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले केन्द्रमा कृषि मन्त्री र जिल्लामा कृषि सामाग्री कंपनी लिमिटेडलाई ज्ञापन पत्र बुझाउने उनले बताए ।