Friday, July 17

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

नेपालअखबार, काठमाडौँ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ। यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो।

Advertisement

अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा. उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए।

Advertisement
Advertisement

यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए।

Advertisement

उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ।’

अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा. नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए।

‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ,’ उनले भने। मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरु लागि परेको बताए।अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ। रासस