Tuesday, August 11

ब्राजिलमा दुर्घटना भएको जहाज,एक मिनेटमै आकाशबाट १७ हजार फिट तल झरेको थियो

नेपालअखबार, काठमाडौँ । ब्राजिलमा दुर्घटना भएको जहाजले दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइ गुमाएको खुलेको छ।

Advertisement

शुक्रबार दिउँसो १:२१ बजे १७ हजार फिट उचाईमा उडिरहेको विमान १० सेकेन्डमै लगभग २४० फिट तल खसेको फ्लाइटराडार २४ को उडान ट्र्याकिङ डाटाले देखाएको छ।

Advertisement
Advertisement

पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको  एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो।

Advertisement

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो।

सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ।

उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।   दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ।

मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्।

जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

दुर्घटनापछि ब्राजिल सरकारले तीन दिन शोक मनाउने भएको छ।

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको एयरलाइन्स सुरक्षा अधिकारीहरूले बताएका छन्।