Sunday, May 10

यातायात कार्यालय वीरगञ्जले एक वर्षमा उठायो डेढ अर्ब राजस्व

नेपालअखबार,वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ लाख ७९ हजार एक सय ५१  रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको थिय ।

Advertisement

सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो। कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन्। त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन्।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन्। मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन्। त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन्। गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन्।