Saturday, July 18

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

नेपालअखबार, धरान । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ।

Advertisement

साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन्।

Advertisement
Advertisement

धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन्।

Advertisement

‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्,’ लिम्बूले भने, ‘खसीबोका रु पाँच हजारदेखि २५ हजारसम्ममा बिक्री गरिरहेको छु।’

लिम्बू खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजान्छन्। ‘व्यापारको टुङ्गो हुँदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ,’ उनले भने।

पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाए।

खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताए।

राईले मासिक पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताए। उनले भने, ‘पुर्ख्यौली पेसा खेती किसानी हो, तर विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु।’ प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उनी बताउँछन्। खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताए।

धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । पन्ध्र वर्षको उमेरदेखि यो व्यवसाय सूरु गरेको उनले बताए। प्रत्येक साता एक सयदेखि १५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताए।

‘धरान कृषि बजारमा खरिद गरिएका खसीबोका राख्न राम्रो सुविधा छ, अरू ठाउँमा यस्तो सुविधा छैन । खरिद गरिएको खसीबोका राख्न यहाँ राम्रो खोरको व्यवस्था छ,’ बस्नेतले भने।

यहाँबाट किनेका खसीबोका बिक्रीका लागि अन्य जिल्ला लैजाने गरेको उनको भनाइ छ । काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए। सबै खर्च कटाएर मासिक एक लाखदेखि १ लाख ५० हजारसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ।

चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए।

उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष रु दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ।

‘वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको छ,’ उनले भने।

धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन्।

यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उनले जानकारी दिए।