Monday, July 27

सडकका बिचमा लगाइएका बिरुवा जोगाउन तारजाली

नेपालअखबार, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बिचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

Advertisement

उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उनले भने, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”

Advertisement
Advertisement

सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिए । “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताए ।

Advertisement

गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।