Tuesday, July 28

दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता

नेपालअखबार, त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

Advertisement

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीया अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।

Advertisement
Advertisement

खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।हराइरहेकी वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप ५० हजार रुपैयाँ नगद दिने घोषणा गरेको छ । बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Advertisement