Monday, July 27

माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : साह

नेपालअखबार,काठमाडौँ ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् । आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका हुन् । सरकार आफैले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बरबाद गरिरहेको आरोप साहको रहेको छ ।

Advertisement

ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडि लेखेका छन्, ‘पहाडी जिल्लाहरूमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेसमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको छ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छन् ।’

Advertisement
Advertisement

विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बङ्गलादेश जस्तै उनको सरकार ढाल्न विद्यार्थीहरू सडकमा आउने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन् ।

Advertisement

पछिल्लो समय आजपा निकटको आम विद्यार्थी मोर्चा मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेसका सयौँ विद्यालयमा विद्यार्थी मोर्चाले संगठन बिस्तार गरेको छ । अहिले विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहितका विद्यार्थी एवं पार्टीका नेताहरू संगठन गठन, पुनर्गठन गर्दै संघर्षका कार्यक्रम अनुसार अगाडी बढी रहेका छन् । जसकारण ओली सरकार तर्सिएको छ र आन्दोलन दबाउ साम्प्रदायिक हर्कत गरिरहेको आरोप विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले लगाए ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका विभिन्न कार्यक्रम समेत घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ ।