Wednesday, August 12

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

नेपालअखबार,म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो ।

Advertisement

गत साउन २९ गते रु तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता गरेअनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए । सम्झौताअनुसार विसं २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइमा आरसिसी ढलान गरिने उनले बताए । आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ९६ लाख विनियोजन गरेको छ ।

Advertisement
Advertisement

कच्ची सडकको धुलो र हिलोले स्थानीयवासी तथा पर्यटकलाई प्रभावित बनाएपछि मौलिकतालाई असर नपर्ने गरी सडक ढलान गर्न लागिएको लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए । यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ र लोमान्थाङ गाउँपालिकाले यहाँको सडक, पैदलमार्ग र गल्लीमा ढुङ्गा बिछ्याएका थिए । यहाँ पर्खालभित्रको मागमा दरबार, गुम्बा र पुरानो बस्ती रहेको छभने बाहिर पनि नयाँ बस्ती छ ।

Advertisement

सघन सहरी तथा भवन निर्माण आयोजनाको रु एक करोड २७ लाखको लागतमा पर्खालभित्रको पदमार्गमा चार हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेटढुङ्गा छाप्ने काम भएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा गाउँपालिकाको रु ६५ लाख २८ हजारको लागतमा स्लेटढुङ्गा छपान गर्ने काम भएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकाले पनि उच्च महत्त्व दिएर सुधारका काम भइरहेका उनले बताए ।

चोक र सडक छेउमा एक सय ५० वटा सडक बत्ती जोडेर रातको समयमा पनि उज्यालो बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । तीस फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सयवटा माटोले बनेका घर छन् । पर्यटकहरू यहाँको प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली अवलोकनका लागि आउने गरेका छन् ।