Monday, July 27

काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा

नेपालअखबार,काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो ।  बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १२ः १९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

Advertisement

उक्त सूचाङकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहुर छ । सो समयमा यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्ली छ । यहाँ मात्र ४३७ आईक्यूआई देखिएको छ । यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ ।

Advertisement
Advertisement

वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

Advertisement

नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ । वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेको सो सूचनामा उल्लेख छ ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ ।