Thursday, July 9

सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री

नेपालअखबार,रामेछाप । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। जिल्लाको मन्थली नगरपालिका-१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार ८०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए।

Advertisement

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए ।

Advertisement
Advertisement

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएको बताउँछन्। ‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला १०० रुपैयाँमा बिक्री हुने गरेको थियो। यो वर्ष भने प्रतिकेजी रु ७५/८० मै दिनुपर्ने बाध्यता छ।’

Advertisement

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्। यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउँछ।

योवर्ष यस वडाबाट करिब दुई करोड रुपैयाँको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गरे।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यो पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र  भिटामिन छर्न अनुदान सहयोग गरेको थियो। बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ।

‘हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ। यसरी त सधैँ व्यवसाय हुँदैन। त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ, स्थानीय किसानको भनाइ छ।