Saturday, November 1

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइयो

नेपालअखबार,काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको  छ । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो ।
विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

Advertisement

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।