Friday, July 3

अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने

नेपालअखबार,काठमाडौँ । फिल्म डीसीएन (डिजिटल सिनेमा नेपाल) बाट रिलिज गर्दा निर्मातालाई लाग्दै आएको बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)मा अब २५ प्रतिशत छुट पाइने भएको छ ।

Advertisement

चलचित्र निर्माता सङ्घ र डीसीएनबिच बुधबार भएको वार्तामा  सहमति भएसँगै उक्त छुट पाइने भएको हो । केडीएम चार्जसमेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता सङ्घ र डीसीएनबिच वार्ता भएको थियो । साउन मसान्तदेखि लागु हुनेगरी केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति भएको हो ।

Advertisement
Advertisement

सहमति पत्रका निर्माता सङ्घका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् । यो निर्णय घरेलु चलचित्रको हकमा मात्र लागु हुनेछ । ‘निर्माताले लामो समयदेखि उठाउँदै आएको कुरा आज पूरा भएको छ,’ निर्माता सङ्घका अध्यक्ष नबल खड्काले भने, ‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन भयो ।’

Advertisement

आजको निर्णयले निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काले बताए ।शुल्क घटाउन निर्माता सङ्घले उदय सुब्बाको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको थियो । जसमा खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेतलगायत सदस्य थिए ।

यसअघि निर्माता सङ्घका अध्यक्ष नबल खड्काको पहलमा निर्माता सङ्घ र प्रदर्शक संस्थाबिच हलको राजस्व बाँडफाँटमा ५०–५० प्रतिशत रकम बाँड्ने सहमति भएको थियो ।

‘फिफ्टी फिफ्टीको नियम लागु हुँदा पूर्णबहादुरको सारङ्गी फिल्मले ३ करोडभन्दा धेरै फाइदा लियो,’ अध्यक्ष खड्काले भने, ‘निर्माता सङ्घ निर्माताको सहजीकरणमा कटिबद्ध छ ।’

यसअघि निर्माता सङ्घ र प्रदर्शक संस्थाबिच हलको राजस्व बाँडफाँटमा ५०–५० प्रतिशत रकम बाँड्ने सहमति लागु भएको थियो ।जसबाट पूर्णबहादुरको सारङ्गी फिल्मले ३ करोडभन्दा धेरै फाइदा लिएको अध्यक्ष खड्काको भनाइ छ ।