Wednesday, July 15

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरौं: राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

Advertisement

राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रूपमा रहेको बताएका हुन्।

Advertisement
Advertisement

नेपालको भौगोलिक सुन्दरताबाट चलचित्र  सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने उनले बताए।

Advertisement

‘पछिल्लो समयमा आदिवासी जनजाति लगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ’, उनले भने।

राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए।

‘नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो’, उनले भने।

मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहँने भन्दै संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको बताए।

उनले सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरूपमा विकास र विस्तार भइरहेको छ त्यो खुशीको विषय भएको जिकिर गरे।