Wednesday, May 6

झन्डै २ दर्जन अमेरिकी राज्यले ट्रम्प प्रशासनमाथि हाले मुद्दा

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकाका २१ राज्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध एउटा ठुलो कानुनी कदम चालेका छन् । यी राज्यहरूका महान्यायाधिवक्ताहरूले सोमबार प्रशासनमाथि संयुक्त मुद्दा दायर गरेका छन् ।

पूरक पोषण सहायता कार्यक्रम (स्न्याप)का लाभार्थीहरूको व्यक्तिगत जानकारी उपलब्ध गराउन भनेर अमेरिकी कृषि मन्त्रालय (यूएसडीए)लाई प्रशासनले गरेको मागको विरोध गर्दै यो मुद्दा हालिएको हो ।

Advertisement

मुद्दा सन फ्रान्सिस्कोको संघीय अदालतमा दायर भएको छ । यो डेटा निर्वासन जस्ता आप्रवासी विरोधी कार्यमा प्रयोग हुने डर यी राज्यहरूलाई छ । गोपनीयता र मानव अधिकार सङ्गठनहरूले पनि यो कदमलाई खतरनाक भनेका छन् ।

ट्रम्प प्रशासनले हालै यूएसडीएमार्फत सबै राज्यहरूलाई स्न्याप योजनाबाट लाभान्वित नागरिकहरूको जन्म मिति, ठेगाना र नागरिकता स्थिति जस्ता व्यक्तिगत डेटा उपलब्ध गराउन माग गरेको थियो ।

डेटा दिँदा यो कार्यक्रमको धोखाधडी र दुरुपयोगलाई रोक्ने मन्त्रालयको तर्क छ । तर धेरै राज्यहरूले यसको उद्देश्य आप्रवासी विरोधी कार्यलाई अझ बलियो बनाउनु हो कि भन्ने शङ्का गरिरहेका छन् ।

मान्छेको ज्यान बचाउने यो कार्यक्रमलाई गैरकानूनी रुपमा प्रयोग आप्रवासी र तिनको परिवार खोजी कार्यमा प्रयोग हुन नदिने न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले सोमबार मुद्दाको घोषणा गर्दै बोलाइएको पत्रकार सम्मेलनमा भनेकी थिइन् ।