Saturday, May 2

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी

नेपालअखबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्।

सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी आक्रमणविरुद्ध चीनले पहिलो पटक पूर्ण विजय हासिल गरेको प्रतीक हो।’

Advertisement

उनका अनुसार जापानी आक्रमणविरुद्ध कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले अघि सारेको राष्ट्रिय एकता मोर्चाले विजय सम्भव बनाएको हो। यस क्रममा चिनियाँ जनताले मानव सभ्यता र विश्व शान्तिको रक्षाका लागि ठूलो बलिदान र योगदान गरेका थिए।

राष्ट्रपति सीले भने, ‘आज पनि मानवजाति शान्ति वा युद्ध, संवाद वा टकराव, दुवै जित्ने वा शून्य–योग खेलको विकल्पबिच छ।’ उनले चीन सधैँ शान्तिपूर्ण विकासको बाटोमा अडिग रहने र साझा भविष्य निर्माण गर्न विश्व समुदायसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, उनले सबै जातजातिका चिनियाँ नागरिकलाई एकजुट भई आधुनिक चीनमार्फत राष्ट्रलाई शक्तिशाली बनाउन आह्वान गरे।

सीले जनमुक्ति सेना (पीएलएल) लाई राष्ट्रिय पुनर्जागरणका लागि रणनीतिक आधारस्तम्भ बन्नुपर्ने बताए। उनले सेनालाई विश्वस्तरीय शक्तिका रूपमा विकास गर्न, राष्ट्रिय सार्वभौमिकता, एकता र भौगोलिक अखण्डताको दृढतापूर्वक रक्षा गर्न निर्देशन दिए।
सिन्ह्वा