Thursday, July 9

पाकिस्तानका सेना प्रमुख मुनिरलाई संविधान संशोधन गरेर दिइयो जीवनभर कानूनी उन्मुक्ति

पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिरलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ।

Advertisement

संशोधन अनुसार मुनिर र अन्य पाँच-तारे जर्नेलहरूले जीवनभर कानूनी उन्मुक्ति पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। उनीहरू अवकाश पाए पनि ओहोदा पनि रहिरहनेछ। मुनिरको अहिलेको कार्यकाल २०२७ मा सकिँदैछ। त्यसपछि पाँच वर्षका लागि कार्यकाल थपिन सक्नेछ।

Advertisement
Advertisement

त्यस्तै विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप खेपेका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पनि जीवनभर अभियोगबाट उन्मुक्ति पाउनेछन्।

Advertisement

संशोधन माथि छलफलका क्रममा हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले नेतृत्व गरेको विपक्षी दल पाकिस्तान तेहरीक-ए-इन्साफका (पीटीआई) सांसदले संशोधनका प्रतिहरू च्यातेका थिए। तर पनि तल्लो सदनले दुई तिहाई बहुमतका साथ संशोधन पारित गरेको छ। सो संशोधनले मुनिरको सेनामाथिको नियन्त्रण थप विस्तार गरेको छ। अर्कोतर्फ सर्वोच्च अदालतको संवैधानिक मामिलाहरू माथिको प्रभावबाट भने कम गरेको छ।

सेना प्रमुखको रूपमा मुनिर अहिले नै पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्तित्व हुन्। तर नयाँ संशोधनले उनलाई रक्षा बल प्रमुखको उपाधि पनि प्रदान गरेको छ। यसले उनलाई वायुसेना र नौसेनाको पनि औपचारिक कमान्ड सुम्पेको छ।

यसपछि मुनिरको पाकिस्तानी सेनामा विगतमा खुल्लम-खुल्ला शासन गरेका तानाशाहहरूकै जति प्रभाव हुने विश्लेषकहरूले बताएका छन्।