Friday, February 13

कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

मुस्ताक आलम, इनरुवा । कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालले सुनसरीमा अवैध हतियार र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। सुनसरी जिल्ला अन्तर्गत कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्व टोलीले एक भारतीय नागरिकलाई पेस्तोल, राउण्ड र ब्राउन सुगरसहित पक्राउ गरेको हो।
निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस तथा बी.ओ.पी. श्रीपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले २०८२ फागुन १ गते साँझ ५:५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको अपाची मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालकले शंकास्पद व्यवहार देखाउँदै भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा भारत, अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवान रहेका छन्। उनको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल १ थान, सोही पेस्तोलमा ३ राउण्ड लोड गरिएको म्यागजिन १ थान तथा पाइन्टको पकेटबाट अन्दाजी १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी डिआइजी मनिष थापाको आगमनसँगै कोशीमा सशस्त्र प्रहरीको सक्रियता बढेको पाईएको छ। सशस्त्र प्रहरी बल, नेपाल को कोशी प्रदेश प्रमुखका रूपमा डिआइजी मनिष थापाले कमान्ड सम्हाल्ने बित्तिकै सीमा सुरक्षामा कडाइ गरिएको छ। जिम्मेवारी सम्हालेसँगै उनले भारतसँग जोडिएका जिल्लाहरूमा अपराध नियन्त्रण, अवैध ओसारपसार र लागूऔषध कारोबारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुन मातहत युनिटलाई स्पष्ट निर्देशन दिएका छन्।
डिआइजी थापाको सक्रिय नेतृत्वपछि सीमा क्षेत्रमा चेकजाँच कडा पारिएको छ भने अवैध गतिविधिमाथि निगरानी बढाइएको छ। स्रोतका अनुसार, उनको आगमनपछि सुरक्षा संयन्त्र अझ व्यवस्थित र आक्रामक ढंगले परिचालित भएको छ।
कोशी प्रदेशमा शान्ति–सुरक्षा सुदृढ गर्ने उद्देश्यले डिआइजी थापाले “शून्य सहनशीलता” को नीति अपनाउँदै अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ।

Advertisement