Friday, May 1

इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च

नेपालअखबार, वासिङ्टन डीसी । इरानसँगको युद्धका कारण अमेरिकालाई दैनिक झन्डै २ अर्ब डलरसम्म आर्थिक भार परेको हुनसक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी द्वन्द्वको आर्थिक प्रभाव अध्ययन गर्ने विशेषज्ञहरूले युद्धले अमेरिकी अर्थतन्त्रमा ठुलो दबाब सिर्जना गरिरहेको बताएका हुन् ।

ब्राउन विश्वविद्यालयस्थित युद्धको खर्च परियोजनाकी निर्देशक स्टेफनी साभेलका अनुसार हतियार खर्च, सैन्य परिचालन, अमेरिकी सम्पत्तिमा भएको क्षति तथा अन्य विभिन्न शीर्षकमा हालसम्म अमेरिकाले अर्बाैं डलर खर्च गरिसकेको छ । उनका अनुसार युद्ध जारी रहने हरेक दिनले सार्वजनिक ऋणमा ठुलो बोझ थपिरहेको छ ।

Advertisement

यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार युद्धको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड डलर खर्च भएको थियो । तर साभेलका अनुसार वास्तविक खर्च अझ बढी हुन सक्नेछ । त्यस्तै, हार्वार्ड विश्वविद्यालयकी रक्षा बजेट विशेषज्ञ लिन्डा बिल्मेसले पनि युद्धको दैनिक खर्च झन्डै २ अर्ब डलर पुगिसकेको बताएकी छिन् । विशेषज्ञहरूका अनुसार यस्तो उच्च खर्चको असर अन्ततः आम अमेरिकी नागरिकमै पर्नेछ । युद्धका कारण इन्धनको भाउमा उतार–चढाव आइरहेको छ भने यसको असरले महँगी बढेको छ ।

युद्धका कारण व्यापारिक अनिश्चितता तथा बीमा खर्चमा दीर्घकालीन असर पर्ने देखिएको छ । यसैबिच ह्वाइटले इरान युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ । साभेलका अनुसार यो अत्यन्त ठुलो रकम भएको र यसले युद्ध लामो समयसम्म जारी रहने सङ्केत गरेको छ ।