Wednesday, July 1

पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड : माधव नेपाल

नेपालअखबार, पोखरा ।  नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरू बिचको एकता कल्पना नगर्न सुझाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिएका कारण एकता अहिले सम्भव नभएको बताएका हुन् ।

Advertisement

पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीहरू बिचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै सङ्गठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

Advertisement
Advertisement

‘अहिले कम्युनिस्ट पार्टीको बिचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबिच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ । पहिले आफू बलियो बनौँ । हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ ।’

Advertisement

नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड दिए । कमिटीहरू गठन गर्दा कार्यकर्ताहरूको चाहना र रुचिलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘पहिले–पहिले हामी फारम भराउने गर्थ्यौँ । तपाईंको रुचि भएको क्षेत्र कुन हो भनेर विकल्प रोज्न लगाउँथ्यौँ,’ उनले अघि भने, ‘सकेसम्म पहिलो, नभए दोस्रो–तेस्रो विकल्पको जिम्मेवारी दिँदा कसैको गुनासो रहँदैनथ्यो । अब पनि त्यस्तो गर्नुपर्छ ।’

गण्डकी प्रदेश कमिटीको आकार ठुलो भएको भन्दै ठुलो सङ्गठन भन्दा चुस्त बनाउन उनको सुझाव छ । ‘चीनको केन्द्रीय कमिटीमा थोरै सङ्ख्या छ, तर उनीहरूले ठुलो जनसङ्ख्याको सफल नेतृत्व गरिरहेका छन्,’ नेपालले भने, ‘हामीकहाँ कमिटी मात्र ठुलो बनाउने तर कार्यकर्ताको स्पष्ट तथ्याङ्क र सक्रियता नहुने समस्या छ ।’

नेता नेपालले मार्क्सवाद र क्रान्तिकारी विचारप्रति निष्ठा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । केही कम्युनिस्ट नेताहरूले वैचारिक धार छाडेर पलायनवादी बाटो रोजेको भन्दै उनले पार्टीभित्र नियमित प्रशिक्षणको आवश्यकता औँल्याए ।

‘हाम्रो पार्टीसँग सिद्धान्त छैन भन्ने भ्रम फैलाउन खोजिएको छ, तर हामी मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी विचारबाट विचलित हुनु हुँदैन । यसका लागि केन्द्र, प्रदेश र जिल्ला तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्छ,’ उनले भने । नेपालले जनताका दैनिक समस्याहरूसँग जोडिन उनले आग्रह गरे ।