Monday, July 13

मोदी खोलाको बाढीले बगायो दुई होटल, सडक र पुल

नेपालअखबार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाने सडकखण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकको  बगाएको छ।

Advertisement

सडक अवरुद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका तथा त्यहाँ जाने क्रममा रहेका सवारीसाधन अलपत्र परेका छन्।

Advertisement
Advertisement

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको छ।

Advertisement

होटल बगेपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

बाढीले घान्द्रुक जोड्ने सडक कटान गरेपछि पर्यटक बोकेका सवारीसाधन दुवैतर्फ रोकिएका छन्। घान्द्रुक पुगेका गाडी पनि सडक अवरुद्ध भएकाले फर्किन सकेका छैनन्।

बाढीले अन्नपूर्ण आधार शिविर पदमार्गअन्तर्गत घान्द्रुक–छोमरोङ जोड्ने किम्रुङ खोलामाथिको पुलसमेत बगाएको छ।

स्थानीयका अनुसार किम्रुङ खोलामा आएको एक्कासिको बाढी मोदी खोलामा मिसिएपछि मोदी खोला उर्लिएको हो।

‘माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएको र त्यसपछि एक्कासि बाढी आएको हुन सक्छ। किम्रुङ खोलामा आएको बाढीले मोदी खोला पनि उर्लियो,’ प्रवक्ता गुरुङले भने, ‘बाढीले पुल र सडक दुवै बगाएको छ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थलमा अहिले थप बाढीको जोखिम नदेखिएको र केही घण्टाभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

‘घान्द्रुक जाने सडक खुलाउन डोजर परिचालन गरिएको छ। मौसमले साथ दिए केही घण्टामै आवागमन सञ्चालन गर्ने लक्ष्य छ,’ प्रमुख जिल्ला अधिकारी गुरुङले भने।