Thursday, July 16

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

नेपालअखबार, लमजुङ। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्।

Advertisement

पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ।

Advertisement
Advertisement

चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य  लाग्छन् ।  केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन्। गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् ।

Advertisement

यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ। दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै गएको छ।

केही दशकअघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँ अहिले पातलिएको छ । धेरै घर खाली छन् भने केही घर जीर्ण अवस्थामा छन् ।

पचासी वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो। चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुन्थे। अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण नरहेको उनी बताउँछन्।

राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ।

स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिले सुविधा नभए पनि गाउँमा मानिस धेरै थिए। अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिस घटेका छन्। गाउँ खाली हुँदै जाँदा यसको असर कृषि क्षेत्रमा पनि परेको छ।

कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ। खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ। उहाँका अनुसार पुस्तौँदेखि चलिआएका खेती गर्ने सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ।

कृषि विकास कार्यालयका अनुसार लमजुङमा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ।

१६ हजार ६२ हेक्टर जमिन बाँझो छ । सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइको प्रभावमा परेको छ। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ।

गाउँमा मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा असर परेको छ। जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ खाली हुनु सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती भएको बताए।

उनका अनुसार युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउन कठिन भएको छ।

दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमा मानिस टिकाइराख्न आयआर्जनको आधार बलियो बनाउन आवश्यक छ। त्यसका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उनले बताए।

गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ। कफी, खुर्सानीलगायत उत्पादनबाट किसानलाई आम्दानीसँग जोड्ने प्रयास गरिएको छ।

गाउँ रित्तिँदै जानु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो। गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ।

दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ। राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ।

यसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा देखिएको छ। गाउँ रित्तिँदै जानु केवल खाली घरको कथा मात्रै होइन, यो त देशका अनेकन बस्तीका उस्तै उस्तै अवस्थाको फेहरिस्त पनि हो।

खाली घरमा फेरि धुवाँ उड्ने, बाँझो जमिनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ।

त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादन बढाउनु र गाउँमा  रोजगारीको अवसर बढाउनु जरुरी भइसकेको छ। अन्यथा, गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।