Sunday, July 19

प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा

नेपालअखबार,ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्।

Advertisement

तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे।

Advertisement
Advertisement

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गरेका हुन्।

Advertisement

‘सत्ताका लागि विगतका गल्ती दोहोर्‍याउँदैनौं’

नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको निष्कर्ष छ।

बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिका कारण राजनीतिको साख गिरेको उनले बताए।

‘सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ,’ थापाले भने।

‘जनादेशको सम्मान गर्दै अघि बढ्नुपर्छ’

सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको औँल्याए। अब कांग्रेस सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार हुनुपर्नेमा उनले जोड दिए।

‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन,’ उनले भने, ‘विगतका गल्ती दोहोर्‍याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ।’

तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको भन्दै उनले सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य नरहेको प्रस्ट पारे।

‘चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ। अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ,’ उनले भने।