Friday, July 31

हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजाको सशस्त्र समूह हमासले हतियार बुझाएर त्यहाँको शासन छाड्न सहमति गरेको दाबी गरेका छन्।

Advertisement

ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत हमास र गजाका अन्य सबै सशस्त्र समूहले हतियार बिसाउन सहमति गरेको दाबी गरेका हुन्।

Advertisement
Advertisement

‘बोर्ड अफ पिसले आज हमास र गाजाका अन्य सबै सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सहमति गरेको छ। यो दिगो शान्ति र सुरक्षातर्फको एउटा स्मरणीय कदम हो,’ ट्रम्पले लेखेका छन्।

Advertisement

उनले निःशस्त्रीकरण पूरा भएपछि गाजामा नयाँ प्यालेस्टिनी सरकारले शासन गर्ने र इसराइलले पनि आफूले चाहेको सुरक्षा प्राप्त गर्ने बताएका छन्।

गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि कतार, टर्की र इजिप्टको मध्यस्थतामा महिनौंसम्मको वार्तापछि हमासले सम्झौताको सर्त स्वीकार गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

यो सम्झौता अनुसार हमास गजाको शासनबाट पूर्ण रूपमा बाहिरिने र त्यहाँ नेसनल कमिटी फर द एडमिनिस्ट्रेसन अफ गजा (एनसिएजी) नामक नयाँ प्राविधिक निकायले प्रशासन चलाउने छ।

हमासको निःशस्त्रीकरण प्रक्रिया सकिन झन्डै ९ महिना लाग्ने पनि अनुमान छ। त्यस अवधिमा हमासले आफ्ना लडाकू र सैन्य हतियार चरणबद्ध रूपमा प्रशासनलाई बुझाउने, सुरूङ तथा हतियार उत्पादन केन्द्र बन्द गरिनेछ। ती कामहरू अन्तर्राष्ट्रिय निकायको अनुगमनमै अघि बढाउने सहमति रहेको एक्सियसले लेखेको छ।

हमासले हतियार बुझाएपछि इसराइली सेना पनि चरणबद्ध रूपमा गजाबाट फिर्ता हुने र अन्तर्राष्ट्रिय स्थिरीकरण बल (इन्टरनेसनल स्टेबलाइजिङ फोर्स)ले नयाँ प्यालेस्टिनी प्रशासनको प्रहरीलाई तालिम र सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने योजना छ।

कतारी मिडिया अल जजिराले भने हमास हतियार बुझाउन सहमत भएको तर त्यसमा सर्त राखेको जनाएको छ। उसले इसराइली सेना गजाबाट नफर्केसम्म र आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म हमासले हतियार नछाड्ने बताएको छ।

त्यसकारण यो सम्झौताको कार्यान्वयन पनि अनिश्चित देखिएको छ।

सम्झौताको मस्यौदामा विस्तृत नःशस्त्रीकरण योजना १४ दिनभित्र तयार गर्नुपर्ने उल्लेख रहेको पनि अल जजिराले लेखेको छ।

हमासका वार्ता टोलीका सदस्य गाजी हमाद वार्ता कठिन भए पनि सहमतिको प्रयास भएको बताएका छन्। तर तत्काल हतियार बुझाउन सहमत नभएको उनले बताएका छन्। बरू गजाको प्रशासन सम्हाल्ने समितिको निगरानीमा राख्न सहमति जनाएको बताए।

‘हामीले निःशस्त्रीकरण गर्ने वा हतियार नै बुझाउने सहमति गरेका छैनौं। इजरायलको कुनै भूमिका पनि स्वीकार गरेका छैनौं,’ उनले अल जजिरासँग भने, ‘यी काम पनि इसराइलले गजामा आक्रमण रोकेर मानवीय सहायता प्रवेश गर्ने दिए पछि मात्रै अघि बढ्ने हो।’

अल जजिराका अनुसार हमासका नेताहरू गत सातादेखि इजिप्टको राजधानी कायरोमा इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्तासँग वार्तामा थिए।

यद्यपि प्यालेस्टिनियन इस्लामिक जिहादले भने सार्वजनिक भइरहेको सहमतिको भाषाप्रति असन्तुष्टि जनाउँदै अन्तिम सहमति भइनसकेको दाबी गरेको छ। उता इसराइलले भने अहिलेसम्म सम्झौताबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।