
नेपालअखबार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्वहरू तुलसीलाल अमात्य र शहीद भीमदत्त पन्तले स्थापित गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन आह्वान गरेका छन्।
नेता अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन्।
उनले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक तथा साङ्गठनिक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्।
सामन्तवादी भू-स्वामित्वको युगमा अमात्यले जसको जोत, उसको पोत भन्ने नाराका साथ किसानहरूलाई आफ्नो हक-अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। साथै, निरङ्कुशताविरुद्धको सङ्घर्ष र वामपन्थी आन्दोलनमा अमात्यको योगदान नेपाली राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहने उनले बताएका छन्।
त्यस्तै, शहीद भीमदत्त पन्तलाई ‘सामन्तवादी शोषणविरुद्धका निडर र क्रान्तिकारी योद्धा’ का रूपमा स्मरण गर्दै ओलीले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा उनले गरेको नेतृत्वको प्रशंसा गरेका छन्।
पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ आन्दोलनको नेतृत्व गरेको वक्तव्यमा उल्लेख छ।
वि.सं. २०१० साल साउन १७ गते पन्तको गोली हानी हत्या गरिएको र किसान आन्दोलनलाई दबाउने उद्देश्यले उनको टाउको छिनालेर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासकै अत्यन्त दुःखद अध्यायका रूपमा ओलीले स्मरण गरेका छन्।




