Sunday, September 20

रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव

नेपालअखबार,ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।

Advertisement

ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौँ उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव गरे ।

Advertisement
Advertisement

त्यसमा काठमाडौँ र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठुलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाइ छ । महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताए । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ । उनले यस्तो व्यवस्था लागू गर्न सके सार्वजनिक यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन हुने दाबी गरे ।

Advertisement

उनले भने,  ‘अब मेट्रो आउनका निमित्त आज काम सुरु भयो भने २० वर्ष पछि मात्रै आउँछ । तसर्थ त्यो अवधि सम्म चाहिँ रात्रि बसको व्यवस्थापन हुनुपर्छ भन्ने कुरा गरेकोमा त्यतातिर पनि खासै त्यति पहलकदमी भइरहेको छैन ।’ महर्जनले मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्न सक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने बताए ।