Friday, April 24

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिए।

Advertisement

यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।